काठमाडौं,२९ पुस  । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले पार्टीको जिल्ला नेतृत्वमा महिला स्थापित गर्नेदेखि आफ्नै भवन निर्माणसम्मको अभियान चलाउने निर्णय गरेको छ । 

अध्यक्ष टुका हमालको अध्यक्षमा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले सो निर्णय गरेको हो । 

अनेमसंघकी सचिव बिनादेवी राईका अनुसार बैठकले तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णयसहित कार्ययोजना पारित गरेको छ । ‘तीन महिना संगठन सुदृढीकरण अभियानको महिना सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ,’ राईले भन्नुभयो । 

बैठकले सातवटै प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यसै गरी जिल्ला र पालिकामा पनि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । 

संगठनकी केन्द्रीय प्रचार विभाग प्रमुख कालिका पाठकले बैठकले अभियानका क्रममा सञ्चालन गरिने योजना बनाएको जानकारी दिनुभयो । पाठकका अनुसार घरघरमा अनेमसंघ, हर घरमा अनेमसंघ नारा सहित अभियान सञ्चालन गरिने छ । ‘बैठकले एक घर एक सदस्य, एक टोल एक कमिटी अभियान सञ्चालन गर्ने निर्णय भएको छ, अभियानमा एक वर्षभित्र ५ लाख सदस्य बिस्तार गर्ने निर्णय गरिएको छ,’ पाठकले भन्नुभयो ।

यस्तै बैठकले सम्मेलन गर्नुपर्ने समय भएका जिल्ला, पालिका, वडा र टोल कमिटीमा अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले १३ बुँदे कार्यक्रम पारित गरेको पाठकले जानकारी दिनुभयो । पारित कार्यक्रममा सबै क्षेत्रमा समान सहभागिताको कार्यक्रम, आर्थिक अधिकार तथा आत्मनिर्भरताको कार्यक्रम, मानव अधिकार तथा सामाजिक न्यायको कार्यक्रम, महिला हिंसाविरुद्धको कार्यक्रम, संविधान कार्यान्वयनको कार्यक्रम, महिला स्वास्थ्यको कार्यक्रमलगायतका कार्यक्रम रहेका छन् । 

बैठकले दुई वर्षभित्र संगठनको आफ्नै भवन निर्माण गर्ने निर्णय पनि गरेको छ । जसको लागि उपमहासचिवको नेतृत्वमा आर्थिक सङ्कलन समिति गठन गरेको छ । यस्तै बैठकले आर्थिक नियमावली पारित गरेको सचिव बिनादेवी राईले जानकारी दिनुभयो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जनसंगठन समन्वय संयन्त्रका प्रमुख रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, अनेमसंघ इञ्चार्ज सीता पौडेललगायतका नेताहरूले आफ्नो धारणासहित निर्देशन दिनुभएको थियो । बैठकमा ढकालले पार्टीको जिल्ला अधिवेशन चलिरहेको भन्दै जिल्लामा महिला नेतृत्व स्थापित गर्ने अभियानमा लाग्न अनेमसंघलाई सुझाव दिनुभएको थियो ।

‘आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गर्ने समय सीमा भएकाले अनेमसंघले जिल्लाहरूमा महिला अध्यक्ष बनाउनका लागि दबाब दिनुपर्छ,’ ढकालले भन्नुभयो ।