काठमाडौं,१ माघ  । नेकपा एकीकृत समाजवादी पार्टी तनहुँ जिल्ला सचिवालय सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सचिव दीपक थापा नेतृत्वको टोली नेकपा एमालेमा फर्कनुभएको छ । 

सो पार्टीका विभिन्न ८७ जना नेता कार्यकर्ता नेकपा एमालेमा समाहित हुनुभएको हो । उहाँहरुलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गर्नुभयो ।

  नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार बेलचौतारामा आयोजना गरेको कार्यक्रममा उहाँहरू एमालेमा समाहित हुनुभएको हो । समाहित हुनेलाई नेता गुरुङले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । 

उहाँहरूलाई पार्टीमा स्वागत गर्दै उपमहासचिव गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई हानी हुने बताउनुभयो । बलियो कम्युनिष्ट पार्टी र कम्युनिष्ट एकता आजको आवश्यकता भएको उहाँले प्रष्ट पार्नुभयो ।