काठमाडौं,११ माघ  ।  राष्ट्रिय सभा एकतिहाइ सदस्यका लागि मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

२ हजार ४७ जना मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भइरहेको छ। १९ पदका लागि ५२ जना उम्मेदवार छन् । 

प्रदेशसभाका सदस्य तथा गाउँ/नगरका प्रमुख/उपप्रमुखले मतदान गर्ने छन् । सत्तासीन दलले गठबन्धन बनाएर उम्मेदवार उठाएका छन् । विपक्षी एमालेले कोशी प्रदेशमा राप्रपासँग तालमेल गरे पनि अन्यत्र एकल मैदानमा छ । 

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।

राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। निर्वाचनमा हालः कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ। 

निर्वाचन आयोगले मतदान सकिएलगत्तै आजै मत गणना सुरू गर्ने जनाएको । निर्वाचनको नतिजा ३/४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ।