काठमाडौं,११ माघ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि आज निर्वाचन भएको हो ।

आज भएको निर्वाचनमा सातै प्रदेशमा गरी नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका तीन तथा नेकपा एमाले र जसपाका समान एक सांसद निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा सत्ता गठबन्धका १८ सांसद निर्वाचित हुँदा एक सिट भने नेकपा एमालेले फुत्काउन सफल भएको छ । एमालेले आजको निर्वाचनमा कोशी प्रदेशको महिलातर्फ माओवादी केन्द्रकी चम्पा कार्कीलाई हराउँदै रुक्मिणी कोइरालालाई जिताउन सफल भएको छ ।

आजको निर्वाचन सकिएसँगै राष्ट्रिय सभामा रहेका दलहरुको दलीय हैसियत पनि फेरिएको छ । पहिलो दलको रुपमा रहेको नेकपा एमाले तेस्रो स्थानमा झर्दा दोस्रो रहेको नेपाली कांग्रेस एक सिट गुमाएपनि पहिलो दलमा उक्लिएको छ भने यसअघि तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित १६ सांसद रहेका छन् । आगामी फागुन २० मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद बाँकी रहनेछन् ।

हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेका छ । यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने छ । निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ ।

आगामी फागुन २० मा एक सांसदको पदावधि सकिन लाग्दा जसपाले निर्वाचनबाट उक्त सिट स्थान सुरक्षित गरेको छ । राष्ट्रियसभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन् ।

यता यसअघि राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ । कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २० पछि १० जनामा सीमित हुनेछ । राष्ट्रियसभामा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ ।

गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको छ ।