भोजपुर,२६ माघ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले केन्द्रले अधिकार बिकेन्द्रिकरण नगर्दा तल्लो निकायहरु बलियो हुन नसकेको बताउनु भएको छ ।
शुक्रवार भएको जिल्ला समन्वय समिति भोजपुरको सातौँ जिल्ला सभामा सम्वोधन गर्नु हुँदै राईले अधिकार जति केन्द्रले बिकेन्द्रित गर्न नसक्दा संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या देखिने गरेको बताउनुभयो । सबै अधिकार केन्द्र मातहतमा हुँदा प्रदेश र स्थानीय तहहरुलाई अधिकार र पैसा समेत कम दिने गरिएको कोशी प्रदेश सांसद समेत रहनु भएका राईको भनाई रहेको छ ।
संघीयता प्रणालीपछि विकासमा भने बिकेन्द्रिकरण भएको उहाँले बताउनुभयो । बिगतमा एक दुई वटा योजना पारिदिदाँ खुशी हुनु पर्ने अवस्था देखिने गरेको बताउँदै राईले अहिले भने बिकासका योजनाहरु बढदै गएको बताउनुभयो । उहाँले गरेका कामलाई पनि नगरेको भन्ने राजतिक प्रचलन देखिने गरेकोे बताउँदै जोसुकैले गरेपनि गरेको कामलाई गरेको भन्न सक्नु पर्ने बताउनुभयो ।
उहाँले अहिले उठी रहेको पहिचानका मुद्धाका बिषय समाधानमा पनि जोड दिनु हुँदै शान्ति बिना विकास सम्भव नहुने भएकाले जनतासँग लड्ने पार्टीहरु नभएको बताउनुभयो । नाम दिँदा शान्ति कायम हुन्छ भने त्यो दिँदा फरक नपर्ने राईको दाबी छ ।


