पोखरा - कृषि उपज बजार, तरकारी तथा फलफूल मण्डी, हार्डवेयर तथा भन्सार गोदामहरुमा काम गर्ने लोडअनलोड मजदुरहरुले आफुहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लोडअनलोड तथा ढुवानी समन्वय समितिको पोखरामा शनिबार सम्पन्न राष्ट्रिय भेलामा देशभरीबाट सहभागी मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकरण हुन आफुहरु इच्छुक रहेको जनाउँदै योगदान रकमको जोहो गरिदिन सरकारसँग माग गरेका हुन् ।
भेलाले पोखरास्थित तरकारी फलफूल मण्डिमा काम गर्ने ४० जना लोडअनलोग गर्ने मजदुरहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएको उदाहरण प्रस्तुत गर्दै देशभरी रहेका सबै मण्डी , हार्डवेयर, गोदाम तथा बसपार्कहरुमा काम गर्ने लोडअनलोड मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनु पर्ने निष्कर्ष निकालेको छ ।
भेलाले लोड अनलोड तथा ढुवानी क्षेत्रका देशभरीका कार्यथलोका समस्याहरुलाई सुत्रबद्ध गर्ने, पोखरा जस्तै देशभरीका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन अभियान सञ्चालन गर्ने र स्थानीय तहमा श्रम डेस्क स्थापना तथा श्रमिकहरुको सुचिकरणका लागि सरकारका तिनैवटा तहहरुमा ध्यानाकर्षण गराउने निर्णय गरेकोछ । भेलाले देशभरी असारसम्म १३ वटा शाखा कमिटीहरु निर्माण गर्ने ५ सय मजदुरहरुलाई संगठनको सदस्यता वितरण गर्ने निर्णय गरेकोछ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य चुडामणी जंगली बिकको प्रमुख आतिथ्यतामा भएको भेलामा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठन सुदृढिकरण र विस्तारको रणनीति प्रस्तुत गरेका थिए ।
भेलाले ओमलाल थिङको संयोजकत्वमा ११ सदस्यीय लोडअनलोड तथा ढुवानी समन्वय समिति गठन गरेको छ। जसमा पितमबहादुर पौडेल सहसंयोजक, राजन ढकाल सचिव, जीवन ठटाल कोषाध्यक्ष छन्। सदस्यहरुमा आइत तामाङ (हेटौडा), अमरसिंह वाइवा (चितवन), बलबहादुर लिम्बू , भेषराज अधिकारी (पोखरा) ,जुक्तबहादुर लिम्बु (धरान) र रामकुमार सरदार (ईटहरी) छन्।


