काठमाडौँ — तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठमा डेनमार्कका लागि राजदूत प्रस्ताव गरेपनि राजदुत बन्न नपाएकी झापा दमककी सुमित्रा सुवेदी (भण्डारी) लाई सरकारले मधेश प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।
२०७८ वैशाखमा केपी ओली नेतृत्वको अल्पमतीय सरकारले विभिन्न ११ देशमा राजदूत सिफारिस गर्दा एमालेकी पुरानो कार्यकर्ता भण्डारीलाई डेनमार्कको राजदूत प्रस्ताव गरेका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवा सर्बोच्चको परमादेश मार्फत प्रधानमन्त्री बनेपछि ओली सरकार ढलेको थियो । सरकार ढलेसँगै भण्डारीको राजदूत बन्ने प्रक्रिया नै रोकिएको थियो ।
नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी भण्डारीसँग नेपाल परिवार नियोजन संघ, दमकस्थित खानेपानी उपभोक्ता समिति, जिल्ला शिक्षा समिति लगायतका संघ संस्थामा काम गरेको अनुभव छ । उनी पार्टीप्रतिकी वफादार, निरन्तर सक्रिय र त्यागी कार्यकर्ता मानिन्छिन् । एमालेकी नेत्री ६२ वर्षीया भण्डारीलाई एमाले अध्यक्ष ओलीकै प्रस्तावमा मधेशको प्रमुख बनाइएको बताइएको छ।




















