काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवासलगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरु व्यक्तिहरुलाई कारबाही गरेर देखाउन नवनियुक्त गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

बिहीबार पार्टीले काठमाडौँमा आयोजना गरेको वृहत् जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले  ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरुलाई जोगाउने काम भएको भन्दै उनीहरुलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।

त्यस्तै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरेका छन् । उनले  नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनेछन् भनेर आफूहरूले हेरिराखेको बताए । 

उनले भने,‘म यही मञ्चबाट नयाँ गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आग्रह गर्न चाहन्छु, के तपाई सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरुलाई जेलमा राखेर कारबाही गर्न सक्नुहुन्छ ?  तपाई ललिता निवास जग्गा काण्डमा मुछिएका दुईवटा प्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ ? म स्वयं गृहमन्त्रीलाई भन्न चाहन्छु, नक्कली भुटानी शरणार्थी काण्डमा केही व्यक्तिहरू पक्राउ परे तर ठुला नेता र ठुला नेताको परिवारलाई जोगाउने काम भएको छ, के तपाई तिनीहरूलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ ?

यति मात्र होइन, म गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाईँमाथि पनि सहकारी ठगीको आरोप लागेको छ, के तपाई त्यसलाई पारदर्शी ढंगबाट, जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ? हामी हेरिराखेका छौँ नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनु हुनेछ ?’

अध्यक्ष थापाले बिभिन्न क्षेत्रमा देखिएको समस्या राजनीतिक नेताहरुकै कारण भएको आरोप पनि लगाए । हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।