काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रक्रियामा कुनै संलग्नता नपाइएको बताएका छन्  । उनले मंगलबार प्रतिनिधि सभाको प्रश्न उत्तर कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन् । 

नेपाली कांग्रेसले उठाएको जस्तो सहकारीसम्बन्धी विषयको अनुसन्धानमा  लामिछानेको कतै संलग्नता नदेखिएको दाहालले बताए । यसलाई राजनीतिकरण नगर्न उहाँले आग्रह गरे ।  लामिछाने सूर्य दर्शन बचत तथा सहकारीको सञ्चालक समिति, लेखा समिति वा अन्य कुनै समिति र जिम्मेवारीमा नरहेको दाहालले बताए  । अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कतै नजोडिएकाले यसलाई राजनीतिक मुद्दा नबनाउन दाहालले आग्रह गरे । 

सहकारीको रकम हिनामिना गर्नेका लिष्टमा लामिछानेको नाम नभएको उनले स्पष्ट पारे  । ‘सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो, जुन अदालतमा अझै विचाराधीन नै छ, ती १९ जनामध्ये चारजना पक्राउ परेका छन् भने बाँकीको प्रहरीले खोजी गरिरहेको छ’, उनले भने । 

रवि लामिछाने सरकारमा आउनु अघि नै सो सहकारी ठगीको विषयमा प्रहरीले अनुसन्धान गरेकोमा उहाँ विरुद्ध मुद्दा दर्ता नभएको उनले प्रष्ट पारे  ।  त्यसैले उहाँ गृह मन्त्री हुँदा स्वार्थको द्वन्द्व हुने भन्न गलत भएको बताए । 

लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्यौट भइसकेकोले उहाँ माथि अनुसन्धान गर्नुपर्ने नै नदेखिएको प्रहरीले अनुसन्धानको निष्कर्ष उनले सुनाए  । यो निष्कर्ष लामिछाने सरकारमा आउनु अघि नै प्रहरीले निकालेको उनले प्रष्ट पारे ।