जनकपुरधाम —  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टी परित्याग गरेको घोषणा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पठाएका छन् । 

नेकपा माओवादी पार्टीको असल नीति र क्रान्तिकारी नेतृत्व कै कारण सरकारी सेवाबाट विद्रोह गरी आफूले भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरेको उनले स्मरण गराएका  छन  । भूमिगत कालमा आफू बाच्न सफल भए पनि आफ्नो परिवारका सदस्यले साहदत प्राप्त गरेको पनि उनले उल्लेख गरेका छन्  । 

आफूले निर्वाचित संविधान सभा सदस्य पदबाट पनि माओवादी कै कारण  राजीनामा दिएको शर्माले फेसबुकमा लेखेका छन  ।   माओवादी पार्टीको एउटा बफादार सिपाहीको हिसाबले इमानदारी पूर्वक देश र जनताको पक्षमा दुई दशकसम्म योगदान  गरेको उनले उल्लेख गरेका छन  । 

माओवादी पार्टीमा संलग्न हुँदा देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पतालको फरक  भएकोले पार्टी छाड्नु परेको शर्माले बताएका छन्  । ‘माओवादी पार्टीले  लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचान सहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्णसमानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको साथै रोजगारीको ग्यारेण्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन, महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानि मात्रै भएको छैन, हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु’, उनले भनेका छन्  । 

प्रधानमन्त्री प्रचण्डले दैनिक जसो अभिव्यक्तिमा सुशासन ,समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टीका प्रमुख पदाधिकारी विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएका उनले उल्लेख गरेका  छन  । त्यस्तै माओवादी पार्टी पार्टी नभएर गुटै गुटका महासंघको रूपमा रूपान्तरण भएको उनको टिप्पणी छ ।

‘१० वर्षे जनयुद्धको दौरान आफैँले उठाएको मुद्दाबाट च्युत हुदैँजानु र जनादेश विपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अँध्यारो दिशा तर्फ धकेलेको महसुस गरेको छु, यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन, तसर्थ आजकै मितिबाट म रामकुमार शर्माले नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु’, राजीनामा पत्रमा उनले लेखेका छन्  ।

संविधान सभा सदस्य समेत रहेका शर्माले तीन वर्षको भूमिगत जीवन र १५ वर्षको खुल्ला संसदीय राजनीतिमा अध्यक्ष प्रचण्डसँग केन्द्रीय समितिमा रही काम गर्ने असर मिलेकोमा उनले पार्टी अध्यक्ष र केन्द्रीय नेताहरूलाई धन्यवाद समेत दिएका छन ।