काठमाडौं — सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो ।
सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सोही दिन काठमाडौं ल्याएर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जिल्ला अदालत काठमाडौंले थुनामा राख्न दिएको म्यादसमेत आज सकिँदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा हिजो र आज महराको बयान भएको थियो । बयानका क्रममा महराले आफूलाई नखाएको विष लागेको भन्दै अनुसन्धान अधिकारीसमक्ष भक्कानिएर रोएको स्रोतले बतायो । महराको बयान आज सकिएको छ । उनको स्वास्थ्य अवस्थालाई विचार गरेर हाजिरी जमानीमा छाड्ने तयारी भइरहेको बताइएको छ ।
अनुसन्धानका क्रममा महराले आफू टिबी, युरिक एसिड, पोस्टेडलगायतका रोगबाट पीडित रहेको र दैनिक आठ प्रकारका औषधिहरु सेवन गरिरहेको जानकारी गराएका थिए ।स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (३) ले दश वर्षभन्दा बढी कैद सजाय हुनसक्ने कसुरमा बाहेक अभियुक्त बालबालिका वा शारीरिक वा मानसिक रोग लागी अशक्त भएको वा सात महिनाभन्दा बढीकी गर्भवती महिला वा ७५ वर्षमाथिको वृद्ध भएमा त्यस्तो अभियुक्तलाई तारेखमा छोड्न सकिने व्यवस्था रहेको छ ।


