काठमाडाैं — सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि पत्रकारहरूसँग उनले एमाले मोर्चामा सहभागी नहुने बताएका हुन् ।

एमाले समाजवादी मोर्चामा सहभागी हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा उनले भने, “हुँदैन ।”

यसअघि बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि सहभागी गराएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठकले एमालेसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले दिउँसो भएको भेटमा ओलीलाई मोर्चामा सहभागी हुन प्रस्ताव गरेका थिए । तर, ओलीले भने नुहने बताएका हुन् ।