धरान — समयमै पिच नगरिदा धरान इटहरी सडकको पानीपियादेखि सेउतीसम्मको सडकखण्डमा सर्वसाधारण यात्रुहरु दुर्घटनाको खतरासंगै र धुलाम्मे वाटोबाट सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । लामो समयदेखि पिचको काम रोकिएका कारण धरान इटहरी ओहोर दोहोर गर्ने यात्रु तथा एम्बुलेन्समा हिड्नुपर्ने विरामीले असाध्यै सास्ती खेपेका छन् ।
ठेकेदार कम्पनी प्यासिफिक जेभीलले समयमा नै निर्माण कार्य सम्पन्न नगर्दा आम जनताले सास्ती खोप्नु परेको हो । सम्बन्धित ६ लेन सडक आयोजना, जनप्रतिनिधिहरु, यातायात व्यवसायीहरुले सडक चाडो निर्माण सम्पन्न गर्न निरन्तर दबाबपछि ठेकेदारले पिच गर्न शुरु गरेपनि सडकखण्डको एकातर्फ मात्र काम भैरहेको छ ।
शुक्रबार प्रदेश सभा सदस्य (सांसद) विजयकुमार राई, धरान वडा नं २ का अध्यक्ष रमेश राई र वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)सहितको टोलीले स्थलगत निरीक्षण गरेका छन् । प्रदेश सभा का सांसद विजयकुमार राई, धरान वडा नं २ का अध्यक्ष रमेश राई र वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) सहितको टोलीले स्थलगत निरीक्षण गरेका छन् । अनुगमनमा टोलीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वाला, एमाले नेता नारायण सुवेदीलगायत थिए ।
प्रदेश सांसद राईले दबाबपछि भएपनि सडक निर्माण कार्य सुचारु भएकोमा खुशी व्यक्त गरे । उनले भने,‘धेरै ढिलाई गरेकोले दुर्घटना पनि धेरै भयो । तर अब काम शुरु भएको छ, र ठेकेदारले चाडै सक्ने भनेको छ । यो एकातर्फको सकेर सञ्चालन गर्ने र अर्कोतर्फ शुरु गर्ने जानकारी दिएको छ ।’
पछिल्लो २ बर्षमा मात्रै यो सडक खण्डमा दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ भने ५५ भन्दा बढी घाइते भएको तथ्यांक छ । मजदुर नेता भिम राई ज्वालाले दुर्घटनाको श्रृंखला एकदमै बढेपछि पटक पटक अनुगमन, निगरानी र आयोजना प्रमुख र ठेकेदर कम्पनीसँग कुराकानी गरेको र हाल २५ सय मिटर सडक पीच गर्न बाँकी रहेको बताए ।
अस्फाल्ट प्रविधिबाट पिच गर्ने काम भइरहेको र एक साताभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको आयोजनाको सुपरभाईजर दिनेशकुमार दाहालले जानकारी दिए । आफुहरुले पनि ठेकेदर कम्पनीलाई चाडो काम सम्पन्न गर्न निरन्तर निर्देशन इिरहेको उनको भनाई थियो । ठेकेदार कम्पनीका प्रतिनिधि एवं क्वालिटी कन्ट्रोलर अनिल देवकोटाले असारसम्म म्याद थप भएकोले यो समयभित्र सबै काम सक्ने गरी निर्माण कार्य हुने बताए ।
तरहरा जोड्ने सडक अन्तरगत जङ्गल क्षेत्रको बेस (गिट्टी, बालुवा मिक्स सडक) दुइ लेन सडकमा पक्की सडक निर्माण गर्न अब २ हजार पांच सय मिटर बाँकी छ । अबको एकहप्तामा २ किलोमिटर बाटो पक्की हुनेछ र बाँकी ५ सय मिटर सडक कालोपत्रे चैतत्र सम्पन्न हुने सडक विभाग डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताए ।



