म्याग्दी — ‘एक घर, एक धारा’ खानेपानी आयोजना सन्चालन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङका एक सय ३६ परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ ।
श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएपछि धारामा २४ सैँ घन्टा नियमित पानी आउन थालेको हो ।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पू्रा भएको हो । उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको रु ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको रु ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो ।
आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ । ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिए । –रासस


