काठमाडौं । बिहीबार रातिदेखि मुलुकभर परिरहेको अविरल पानीका कारण देशका विभिन्न भागका बस्तीहरू जोखिममा परेका छन् । एक दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध भएका छन् । गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार सुनसरीको हरिनगरामा ५०–६० घर जोखिममा छन् ।
सप्तरीको अवस्था सामान्य छ । तर, कोसी नदीको बहाव बढिरहेको छ । कोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ६७ हजार क्युसेक पुगिसकेको छ । सिराहाको कमला नदीको टापुमा एक जनालाई उद्धार गर्ने कार्य जारी छ । महोत्तरीमा रातु खोलाले समस्या गराउन सक्ने गृह मन्त्रालयले जनाएको छ ।
सर्लाहीको खैरहवामा बाढी रोक्ने काम भइरहेको छ भने जिल्लाका अधिकांश भूभागमा विद्युत् आपूर्ति बन्द भएको छ । सर्लाहीको सिमानामा भारतीय पक्षसँग कुरा गरेर नाला सफा गरी पानी निकास गरिएको बताइएको छ । रौतहटको केही भाग डुबानमा परेको छ । सीमामा भारतीय पक्षले बनाएको बाँध खुलाउने प्रयास भइरहेको मन्त्रालयले जानकारी दिएको छ । रौतहटको वृन्दावन नगरपालिका १ बलरीखोरमा बागमती नदीतर्फ सर्लाही हजरियाका पाँच–छ घर बनाई खेतीपाती गर्र्दै आएका थिए । उनीहरूमध्ये १५ जनाको उद्धारको प्रयास भइरहेको छ ।
काठमाडौंमा बल्खु खोलाले बगाएर एक जना बेपत्ता बनाएको छ । कलंकी ढुंगेअड्डामा केही होचो भाग डुबानमा परेको छ । कलंकी ढुंगेअड्डामा तीन जना फसेको र उनीहरूको उद्धार जारी रहेको मन्त्रालयले जनाएको छ । मकवानपुरको भीमफेदीमा आठ घर परिवारका ४० जना फसेको बताइएको छ । उनीहरूको उद्धार प्रयास जारी रहेको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।
गृह मन्त्रालयको पछिल्लाे रेकर्ड अनुसार बिहीबार रातिदेखि अनवरत परिरहेको झरीका कारण मुलुकभरका १३ राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको बिपी राजमार्गमा पहिरोका कारण शुक्रबार बिहानैदेखी गाडी चल्न सकेको छैन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहट–सर्लाही खण्डमा बाटोमा पानी आएर साना गाडी नचल्ने अवस्था भएको छ । सुनसरीको रामधुनी–६ मा सडक अवरुद्ध भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा पाख्रिबास–७ को सडक, उदयपुर रौतामाई–५ स्थित गाईघाट–खोटाङ सडक अवरुद्ध भएको छ ।
खोटाङ हलेसी–तुवाचुङ ५ मा वर्षाका कारण सडक अवरुद्ध भएको छ । त्यस्तै ओखलढुंगा मानेभञ्ज्याङ–७ मा, सिन्धुली गोलन्जोर–५, रामेछाप मन्थली–६, ललितपुर महांकाल–हेटौंडा राजमार्ग, कान्तिपथ र त्रिभुवन राजपथ र लमजुङ मनाङ सडक अवरुद्ध भएको छ ।


