इलाम — इलाम २ मा उपनिर्वाचनका लागि नेकपा एमालेका सुहाङ नेम्बाङ लगायत बिभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका उम्मेदवार नेम्बाङले ठुलो संख्यामा पार्टीका नेता कार्यकर्ता तथा सुभचिन्तक सहित निर्वाचन कार्यालय पुगेका नेम्बाङले शनिबार दिउँसो मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गराउनु पूर्व उनले राष्ट्रिय विभूति तथा सहिदहरूको शालिकमा माल्यार्पण गरेका थिए । माओवादीले अघि सारेका उम्मेदवार धिरेन्द्र शर्मा प्रस्तावक र एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेदवारी दर्ता गरिएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
अहिलेसम्म सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन्।
डम्बर खड्कालाई उम्मेदवार बनाएको नेपाली काँग्रेस र मिलन लिम्बू उम्मेदवार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।
संविधानसभा अध्यक्षसमेत रहेका सो क्षेत्रका सांसद सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम २ मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो। एमालेले नेम्बाङकै छोरा सुहाङलाई उम्मेद्वारका रुपमा अघि सारेको छ। उनलाई माओवादीले पनि समर्थन गरेको छ। सुहाङसहित इलाममा उम्मेदवारी दर्ता गर्नेको संख्या पाँच पुगेको छ।
एमालेका सुहाङको उम्मेद्वारी दर्ता गर्न एमालेका स्थायी कमिटी सदस्यहरु हिक्मत कार्की, शिवमाया तुम्वाहम्फे,भानुभक्त ढकाल, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, लगायत इलाम जिल्लाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो।
- यो भिडियो पनि हेर्नुहोस
कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक




















