काठमाडौं — लुम्बिनी प्रदेशमामा एमाले– माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको छ ।
नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि सत्तापक्षीय गठबन्धनले बहुमत जुटेको हो । सत्ता गठबन्धनतिर बहुमत जुटाउन एक सांसदको कमी थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।
लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका सभामुखबाहेक १०, जसपाका तीन जना तथा नेकपा एकीकृतका एक सांसद छन् ।
स्वतन्त्र सांसद र चार दलको बिहीबारको बैठकले माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनाउन समर्थन गर्ने निर्णय गरेका छन् ।
सहमति पत्रमा प्रदेश सरकारबाट गरिने सबै राजनीतिक नियुक्तिहरु सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने गरी गरिने, प्रदेशको पहिचान कायम गर्ने प्रदेश गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन बनाउन सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यन्वयन गरिने उल्लेख छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माण लगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्वबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्वन गर्ने दलहरुबीच सहमति भएको छ ।




















