विराटनगर — कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले राजीनामा नदिएपछि  कोशीमा एमाले र माओवादी केन्द्रले सरकार परिवर्तनको   विकल्पका बारेमा छलफल शुरु गरेका छन्  ।

कोशी प्रदेशको सरकार परिवर्तनको  विषयमा आइतबार बोलाइएको  गठबन्धनको प्रदेश स्तरीय बैठक नेकपा एसका संसदीय दलका प्रतिनिधि  नआएपछि स्थगित गरिएको छ । एमाले र माओवादीका नेताबीच एक-दुई दिनभै मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया थाल्ने तयारी गरिरहेका बेला  नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नआएपछि स्थगित गरिएको छ ।  राइ गृह जिल्ला भोजपुरमा भएका कारण उपस्थित नभएको बताइएको छ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त केदार कार्कीलाई सांसदका रूपमा समर्थन गरेका एमालेका ३९ जना सांसदहरूले समर्थन फिर्ता लिने तयारी गरेका छन् । त्यसका लागि एमाले सांसदहरूले हस्ताक्षर गरिसकेका छन् । माओवादीले सांसदहरूको हस्ताक्षर गराएर समर्थन फिर्ता लिने तयारी गरेको छ । 

शुक्रबार एमाले र माओवादी केन्द्रबीच गठबन्धनको भावनाअनुसार नै कोशी प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भइसकेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सांसदहरूले समर्थन फिर्ता गरेपछि कोशी प्रदेशमा वैकल्पिक सरकार बन्न सक्ने आवश्यक संख्यासहितको बहुमत हस्ताक्षर बुझाउने र प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको पनि माग गर्ने एमालेको तयारी छ । एमालेका सांसदहरूले समर्थन फिर्ता लिएपछि गठबन्धन दलमध्ये नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीहरूसहित अन्य दलका मन्त्रीहरूले समेत मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । 

कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । तत्कालीन समयमा कांग्रेससँग विद्रोह गरेर एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए तरपछि माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो । 

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९,माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।