• बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप 
  • नेपाल र भारतमा पटकपटक बलात्कार गरेको पीडितको दाबी

काठमाडौँ  — नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो ।

 ३१ वर्षीय एक महिलाले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् ।

सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले दर्ता गराएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनको जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । प्रहरीले पीडितकाे दाबीलाई भेरिफाई गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘मुद्दा अगाडी बढाउने आधार खोज्दै छौँ ।’ पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् । बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्‌मा उद्योगमन्त्री थिए ।