विराटनगर — कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेलगत्तै उनीहरुले सोमबार राजीनामा दिएका हुन् |
कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट सरकारमा गएका पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती, खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले राजीनामा दिएका हुन् । सोमबार अपरान्ह साधे ३ बजे मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउन उनीहरु मुख्यमन्त्री कार्यालय पुगेका थिए । खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए ।
केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नयाँ सरकार गठनको तयारीमा जुटेको नेकपा एमाले र माओवादी केन्द्रले आजै मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिने निर्णय गरेको हो । सोमबार नै माओवादीको कोशी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । दलको बैठकले प्रदेश प्रमुख समक्ष प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समावेदन पेश गर्ने समेत निर्णय गरेको माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले पनि जानकारी दिए ।
कोशी प्रदेश सरकारमा पनि सरकार परिवर्तनको कोर्स सुरू भएको हो । नयाँ सरकार गठनका लागि मन्त्री फिर्ता भएसँगै बाटो खुल्ला भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । नेकपा एसले भने अहिलेसम्म मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छैन ।




















