कैलाली — सरकारको बिषयलाई लिएर बिवादको चरम उत्कर्षमा पुगेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता बर्खास्त गरेको छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीभित्र विवादहरु बल्झिदै जाने क्रममा प्रदेश सभामा संसदीय दलका नेता घनश्याम चौधरीलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको हो । दलका नेताबाट बर्खास्तमा परेका घनश्याम आर्थिक मामिला मन्त्री समेत हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै घनश्यामलाई बर्खास्त गरी कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी छन्  ।

अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उल्लेख छ ।

अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको यसअघि नै सार्वजनिक वक्तब्यद्वारा जानकारी सकेका  छन  । आइतवार नै अध्यक्षको पत्रले नाउपा समानुपातिक सांसद इन्दिरा गिरी पनि पदमुक्त भएका  छन  ।