काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष पत्नी रन्जिता सोझी र अन्जान रहेको भन्दै केही स्वार्थी मान्छेले त्यसको फाइदा उठाएको बताएका छन् ।
सामाजिक संजालमा शनिबार बिहान लामो स्टाटस लेख्दै उनले शनिबार बिहान आफू र पार्टी अध्यक्षसमेत रेहकी पत्नी रन्जिताबीचको सम्बन्धमा भाँजो हालेर नाउपा सिध्याउने प्रयत्न भइरहेको टिप्पणी गरेका छन् । रेशमले रन्जिता सोझी र अन्जान रहेको भन्दै स्वार्थी मान्छेले त्यसको फाइदा उठाएको बताएका छन् । ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर, तिमीले बुझेनौ’, उनले लेखेका छन्, ‘तिमी सोझी र अन्जान छ्यौ तर, मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए। शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ। छोरी,भाउजू र भान्जी भन्ने तत्वहरुसँग टाढै रहन उनले रञ्जितासँग आग्रह गरेका छन् ।
‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरि नै राखेका छन् । तर, अब रोकिनुहुन्न । संवादको शुरूआत गरे दुवैको मन हल्का होला’, उनले भनेका छन्, ‘तिमीलाई मेरो सुझाव छ रन्जु,अहिले केहिदिन ३ तत्वबाट टाढा रहनु, छोरी भन्नेसँग, भाउजू भन्नेसँग, भान्जी भन्नेसँग । यी ३ को खेलबाट बच्नु कल्याण आफैं हुन्छ ।’




















