विराटचोक—मोरङको विराटचोकमा सञ्चालित जेनी व्युटी एकेडेमीले शनिबार एक भव्य कार्यक्रमको आयोजना गर्दै आफ्नो ५औं वार्षिकोत्सव मनाएको छ। २०७९ सालमा एउटा सामान्य व्युटी पार्लरबाट सेवा सुरु गरेको जेनी व्युटी एकेडेमीले गुणस्तरीय सेवा र व्यावसायिक प्रशिक्षणकै कारण अहिले पूर्वका चर्चित सहरहरूमा एउटा स्थापित र विश्वसनीय 'ब्राण्ड' बन्न सफल भएको छ।

उक्त वार्षिकोत्सव कार्यक्रममा धरान, इटहरी, बेलबारीदेखि झापाको विर्तामोडसम्मका व्युटी पार्लर सञ्चालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एकेडेमीकी सञ्चालिका प्राश्ना गुरुङले कार्यक्रममा बोल्दै हालसम्म एकेडेमीबाट ३ सयभन्दा बढी दक्ष प्रशिक्षार्थीहरू उत्पादन भइसकेको जानकारी दिनुभयो। विभिन्न देशहरूमा पुगेर अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य कला तालिम  प्राप्त गरेकी सञ्चालिका गुरुङकै कुशल व्यवस्थापन र उत्कृष्ट प्रशिक्षणका कारण यहाँबाट प्रशिक्षार्थीहरू पूर्ण रूपमा लाभान्वित भइरहेका छन्।

यस एकेडेमीले आगामी दिनमा पनि यस क्षेत्रका महिलाहरूलाई व्यावसायिक र सीपमूलक तालिम दिएर स्वरोजगार तथा आत्मनिर्भर बनाउन थप महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।