निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ ६ बजेसम्मकाे मापनमा पानीकाे बहाव ३ लाख ३१ हजार २ सय २० क्युसेक पुगेको छ । ब्यारेजका ५६ वटा ढोकामध्ये ४० वटा ढोका मात्र खाेलिएको छ । 

कोशी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा रहँदै आएको छ । कन्ट्रोल रुममा भारतीय कर्मचारीहरु रहेका छन् । काेशीमा रहेकाे ५६ वटा ढोकामध्ये ४० वटा ढोका खोलिँदा पानीको उच्च बहावले भारतको बिहारका विभिन्न जिल्लामा डुबानमा परेको बताइएको छ । थप ढोका खोल्दा भारतीय भूमि डुबानमा पर्ने र ढोका नखोल्दा नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । 

भारतको सुपौल, अररिया, मधुवनीलगायतको अधिकांश बिहारका जिल्ला डुबानमा पर्ने भएकाले भारतले ढोका खोल्न आनाकानी गर्ने गरेको स्थानीय बलराम क्षेत्रीले बताए । कोशीमा पानी बढ्ने क्रम जारी रहेको अवस्थामा ब्यारेजका ढोका नखोलिए नेपाली भूभाग तर्फ खतरा बढ्न सक्ने सम्भावना रहेकाे छ । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शनिबार कोशी ब्यारेजको निरीक्षण गर्दै मानवीय र भौतिक क्षति हुन नदिन हर सम्भव उपाय अपनाउने बताएका छन् ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।नयाँ पत्रीकाबाट