काठमाडौं, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

भानुभक्तको विषयका अध्येता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालील भानुभक्तको भोलीवादको विरोधमा रचना भएको कवितालाई आजका शासक तथा प्रशासकले बझेर व्यवहारमा उतार्न सके मात्र सुशासन र समृद्धि सम्भव हुने बताउँछन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आइतबार बिहान काठमाण्डौको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।

भानुभक्त भन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । अध्येता ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको छ । उनको निधन १९२५ असोजमा भएको थियो ।