विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन् ।
कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।
विश्वासको मतका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २८ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए ।




















