बुटवल, ९ साउन । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागले ठूलै राजनीतिक ‘तरङ्ग’ ल्याएको छ । यो तरङ्गलाई कसरी व्यवस्थित रुपमा शान्त पार्ने भन्ने सकस पनि पार्टी नेतृत्वसामु आइपरेको छ ।

शीर्ष नेता मात्र होइन नेकपाका अन्य नेताहरुलाई समेत कसको पक्षमा लविङ्ग गर्ने भन्ने अप्ठ्यारोको स्थिति स्कुल विभागको विवादले सिर्जना गरेको छ । अहिले नेकपाको स्कुल विभागमा आकांक्षा देखाउनेहरु बढेका छन् । विशेष गरी पार्टी महासचिव ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य घनश्याम भुसाल स्कुल विभागमा आफूलाई दावेदारी प्रस्तुत गरिरहेका छन् ।

स्कुल विभागमा आफ्नो दावेदारी प्रस्तुत गरिरहेका नेताहरुको आफ्नै अडान उक्त विभागका लागि आफू के–के कुराका कारण योग्य हुँ भन्ने अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् ।
यिनै नेताहरुमध्ये नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य उम्मेद्वार भइको दावी गरेका छन् ।

उनले पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा आफ्नो योगदान रहेको बताउँदै स्कुल विभाग आफूलाई दिन नेतृत्व समक्ष आग्रह गरेका छन् ।

भुसालले पार्टी प्रशिक्षण, मार्क्सवादलगायत क्षेत्रमा आफूले पार्टी र स्कुल–स्कुलमा पढाउँदै हिंडेकाले यो विभाग आफूलाई दिंदा सबैलाई न्याय हुने दाबी गरेका छन् । अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कुल विभाग कसले लिने भन्ने विवाद चर्किएको छ ।

बिहीबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पार्टी सामुहिक निर्णयबाट चल्ने, आफूले गरेको योगदानको मूल्याङ्गन गर्ने र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग दिंदा न्यायोचित हुने दावी गरे ।

‘मेरो सिम्पल दाबी हो, त्यो पनि छलफल गरे हुन्छ मेरो मात्र दाबी होइन, ‘मार्क्सवाद, पार्टीको राजनीति, बदलिएको समाज, समाजको अर्थ राजनीति यी सबै पढाउने काम मैले गर्दै आएको छु,’ उनले भने । 

प्रतिनिधिसभा सदस्य समेत रहेका भुसालले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट आफू उपमहासचिवमा निर्वाचित हुँदा पनि स्कुल विभागको दाबी गरे पनि उतिबेला कुनै पनि जिम्मेवारी नपाएको समेत बताएका छन् ।

‘पार्टीको सिद्धान्त र विचार बनाउनका लागि मैले मेहेनत गरेको छु’, उनले भने, ‘सबैले मेहेनत गरेका छौं, त्यसमा मैले बढी मेहेनत गरेको छु, कसैले भन्दा कम मेहेनत गरेको छैन भन्ने त्यति बेलाकै दाबी थियो ।’

नेता भुसालले पार्टी सामुहिक निर्णयबाट नचल्दा चाहे जति काम गर्न नसकेको र केही महत्वपूर्ण र राम्रा विधेयक पनि फिर्ता लिनु परेको स्पष्ट गरेका छन् । भुसालले सरकार गठनपछि थुप्रै राम्रा काम भएको तर जनता समक्ष लैजान नसक्दा गरेका काम पनि नदेखिएको दाबी गरे ।

‘सरकारले गरेकै उपलब्धीहरू कामहरू पनि तलसम्म लैजान सकिएन भन्नुको अर्थ के हो भने पहिलो सम्पूर्ण पार्टी परिचालित भएन, दोस्रो पार्टीभित्र र संसदीय दलमा पनि छलफल भएन ।’
उनले पार्टीलाई गुट, रिसराग, पुरानो कुण्ठाभन्दा माथि राखेर सञ्चालन गरे सरकारले गरेका राम्रा काम जनतासम्म पुर्‍याउन सबै एकजुट भएर लाग्ने बताएका छन् ।

‘गरेका कामहरू जनतामा नपुग्ने, गरेकै कामहरूमा पनि तमाम विवादहरू रहने यो हुनु पार्टीको आन्तरिक व्यवस्थापन ठीक नहुनुको परिणाम हो, यसमा केही गुटगत स्वार्थहरू रहे, त्यसका केही बोझहरू बाँकी रहे जसलाई हामीले व्यवस्थित गर्न सकेनौं ।’ उनले पछिल्लो समय कम्तीमा पार्टीमा छलफलको सुरूआत भएको भन्दै यसले सरकार र पार्टी जीवनमा ठूलो प्रभाव पार्ने बताए ।

पार्टी एकजुट भएर अघि बढे अहिले सरकारविरूद्ध भइरहेका आलोचना र घट्दो जनमत ६ महिनामै पूर्ववत् अवस्थामा पुगी अझै बढ्ने भुसालले जिकिर गरे ।