काठमाडौं — सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । यसैगरी माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सचिव भुवन आचार्य पनि एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रचना खड्का लगायत नेताहरूले विहिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा खनाललाई खादा लगाई एमालेमा स्वागत गरेका छन् ।
यातायात व्यवसाय क्षेत्रका नेता खनाल नेकपा माओवादी केन्द्रको भौतिक पूर्वाधार तथा यातायात विभागका सदस्य हुन् भने माओवादीको जनसंगठन नेपाल उद्योग व्यवसायी महासंघका उपाध्यक्ष हुन् । करिब ३५ वर्ष यातायात व्यवसायमा रहेर महासंघमा १८ वर्ष महासचिव लगायत पदाधिकारीको जिम्मेवारी सम्हालेको खनालले यातायात क्षेत्रको सुधार नेकपा (एमाले)बाट मात्र सम्भव हुने देखेर नेकपा (एमाले)मा समाहित भएको बताए । उनी बाँकेका स्थायी बासिन्दा हुन् ।




















