नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्युरो सदस्य देव घिमिरे रमणलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ।

नेकपाको नारायणी ब्युरो इन्चार्ज मिलनले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी नीति विपरित कार्य गरेकोले कारवाही गरिएको उल्लेख गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी पद्धतिअनुसार विगतमा रुपान्तरणको लागि आवश्यक कदम चालेको तर रुपान्तरणक हुनुको साटो नीति विपरित पार्टीलाई गम्भीर आँच आउने कार्य गरेको पाइएकोले कारवाही गरिएको हो।’

अधिकारीसहित ३ जनाले गत आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा हिंसाको बाटो परित्याग गरेको भन्दै आत्मसर्मपण गरेका थिए। आत्मसर्मपण गरेका उनलाई दैनिक प्रहरीमा हाजिर हुने गरी छोडिएको छ।

ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेका थिए। कार्कीको हकमा पार्टीले कुनै निर्णय गरेको छैन।

विप्लव नेतृत्वको नेकपाका मध्यमकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सँगै पक्राउ परेका अधिकारी खानेपानीमन्त्री बिना मगरका पूर्व पति हुन्।

आत्मसर्पणपछि उनले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको स्रोतहरुले बताएका छन्। प्रतिबन्धित नेकपाका नेता उनी सत्तारूढ नेकपा प्रवेश गर्नसक्ने चर्चा छ।