काठमाडौं—उत्तर कोरिया ले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केतस्वरूप आणविक बम निर्माणका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उन ले देशको आणविक शक्ति तीव्र गतिमा विस्तार गर्ने लक्ष्य पुनः दोहोर्‍याएका छन् । यस कदमले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको विश्लेषण गरिएको छ ।

दक्षिण कोरिया को सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम संवर्धन संयन्त्रका रूपमा मूल्याङ्कन गरेको जनाएको छ । दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिका सँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ सुविधामा “अझ परिष्कृत प्रविधि” प्रयोग गरिएको छ । तर संयन्त्रको ठ्याक्कै स्थान, उत्पादन क्षमता वा सञ्चालन सुरु भएको मिति भने सार्वजनिक गरिएको छैन । सार्वजनिक तस्बिरहरूमा हतियार–स्तरको युरेनियम उत्पादनका लागि प्रयोग हुने सेन्ट्रिफ्युजहरूले भरिएको ठूलो हल देखिएको छ ।

केसीएनएका अनुसार किम जोङ उन ले बुधबार उक्त केन्द्रको निरीक्षण गर्दै सञ्चालन अवस्था र दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिएका थिए । उनले “सबैभन्दा हिंसक शत्रुहरू” सँग सामना गरिरहेको भन्दै बदलिँदो सुरक्षा वातावरणका कारण आणविक क्षमता विस्तार आवश्यक रहेको बताएका छन् । यस टिप्पणीलाई व्यापक रूपमा अमेरिका र दक्षिण कोरियातर्फ लक्षित भनाइका रूपमा हेरिएको छ ।

उत्तर कोरियाले सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने विभिन्न क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्र बनाएको छ । तीमध्ये केही मिसाइलहरू अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने क्षमताका रहेको दाबी गरिएको छ ।

विश्लेषकहरूका अनुसार सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकिम जोङ उन बीच भएको उच्चस्तरीय आणविक कूटनीति विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आफ्नो आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढी केन्द्रित भएको हो ।