एजेन्सी— विश्व बजारमा इरानी तेलको आपूर्ति पुनः सुरु हुन सक्ने बलियो संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। अमेरिका र इरानबीच सम्भावित सम्झौता भई इरानी तेलमाथिको प्रतिबन्ध हट्ने सम्भावना बढेपछि तेलको मूल्य ओरालो लागेको हो।
यससँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य घटेर प्रतिब्यारेल ७८ डलर २२ सेन्ट र 'डब्लुटीआई' (WTI) कच्चा तेल ७५ डलर १६ सेन्टमा झरेको छ, जुन अमेरिका-इरान तनाव सुरु भएयताकै न्यून बिन्दु हो।
इरानी तेल बजारमा प्रवेश गरेसँगै लाखौँ ब्यारेल अतिरिक्त तेल आपूर्ति हुने र यसले विश्वव्यापी महँगी (मुद्रास्फीति) को दबाब कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, पछिल्लो तीन महिनादेखि अवरुद्ध रहेको होर्मुज जलडमरूमध्यको ढुवानी पनि आगामी सेप्टेम्बर अन्त्यसम्ममा पूर्ण रूपमा सामान्य हुने विश्लेषकहरूको अनुमान छ।
अर्कोतर्फ, यतिबेला विश्व बजारका लगानीकर्ताहरूको ध्यान अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष केभिन वार्शको पहिलो मौद्रिक नीति बैठकमा केन्द्रित भएको छ। यस बैठकबाट तत्काल ब्याजदर परिवर्तन हुने सम्भावना न्यून रहे पनि आगामी आर्थिक नीतिको दिशा र सम्भावित ब्याजदर वृद्धिबारे बजारले विशेष चासोका साथ हेरिरहेको छ।




















