लस एन्जलस (एजेन्सी) — फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ४० वर्षको प्रतीक्षापछि क्यानडाले विश्वकपको नकआउट चरणमा पुगेर नयाँ इतिहास रचेको हो।
अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ दुवै टोलीबीच कडा प्रतिस्पर्धात्मक रह्यो। दक्षिण अफ्रिकाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै क्यानडाको रक्षापंक्तिमा दबाब सिर्जना गरेको थियो। यद्यपि, सिर्जना भएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली अग्रता लिन असफल रह्यो।
पहिलो हाफको अन्त्यतिर क्यानडाले पनि उत्कृष्ट अवसरहरू सिर्जना गर्यो। मोइज बम्बिटोको हेडरलाई दक्षिण अफ्रिकाका डिफेन्डरले गोललाइनबाट क्लियर गरे भने ताजोन बुकाननको शक्तिशाली प्रहारलाई गोलकिपर रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गर्दै खेललाई गोलरहित बराबरीमा राखे।
दोस्रो हाफमा क्यानडाले खेलमा पकड जमाउन सफल भयो। ७५औँ मिनेटमा स्टार खेलाडी अल्फोन्सो डेभिस मैदानमा प्रवेश गरेपछि टोलीको आक्रमण थप प्रभावकारी बन्यो। डेभिसको गति र ड्रिब्लिङले दक्षिण अफ्रिकाको रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्यो।
निर्धारित समय सकिएपछि थपिएको इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा क्यानडाले निर्णायक गोल गर्यो। कप्तान स्टेफन युस्टाक्यिुले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै जाली चुमेपछि क्यानडाले १–० को ऐतिहासिक जित दर्ता गर्यो।
क्यानडाले यसअघि सन् १९८६ र २०२२ को विश्वकप खेले पनि दुवै पटक समूह चरणबाटै बाहिरिएको थियो। तर, यसपटक टोलीले पहिलो पटक विश्वकपको नकआउट चरण अर्थात् अन्तिम १६ मा स्थान बनाउँदै आफ्नो फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ।




















