कोलकाता—पश्चिम बंगाल विधानसभाका पूर्व उपसभामुख तथा तृणमूल कांग्रेसका वरिष्ठ नेता आशिष ब्यानर्जीको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ।
आइतबार बिहान वीरभूम जिल्लास्थित तृणमूल कांग्रेसको पार्टी कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रामपुरहाट–५ को हत्तलापाडा क्षेत्रमा बसोबास गर्दै आएका ब्यानर्जीको घरनजिकै पार्टी कार्यालय रहेको थियो।
प्रहरीका अनुसार घटनास्थलबाट एउटा सुसाइड नोटसमेत फेला परेको छ। नोटमा आफ्नो मृत्युका लागि कोही पनि जिम्मेवार नरहेको उल्लेख गरिएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाउँदै शव पोस्टमार्टमका लागि पठाएको छ।
ब्यानर्जी तृणमूल कांग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीका निकट सहयोगीका रूपमा चिनिन्थे। टीएमसीले पश्चिम बंगालमा सरकार गठन गरेपछि उनले विद्यालय शिक्षा, कृषि लगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
उनी रामपुरहाट निर्वाचन क्षेत्रबाट सन् २००१, २००६, २०११, २०१६ र २०२१ मा लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए। ममता ब्यानर्जी नेतृत्वको अघिल्लो सरकारमा उनले विधानसभाको उपसभामुखको जिम्मेवारीसमेत सम्हालेका थिए।
तर, सन् २०२६ को विधानसभा निर्वाचनमा उनी भारतीय जनता पार्टीका उम्मेदवार ध्रुव साहसँग पराजित भएका थिए।
यसैबीच, ब्यानर्जीले गत जुन २ मा टीएमसीको वीरभूम जिल्ला अध्यक्ष तथा जिल्ला कोर कमिटी अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनले कोर कमिटी निष्क्रिय भइसकेकाले अब त्यसको आवश्यकता नरहेको बताएका थिए। त्यसपछि आफू पार्टीको साधारण सदस्यका रूपमा मात्र रहने घोषणा गरेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















