काठमाडौँ—भारतको विशाखापट्टनममा शिक्षिकाले कुटेको केही समयपछि ६ वर्षीय बालकको मृत्यु भएको घटना सार्वजनिक भएको छ।
लिटिल गार्डन्स स्कुलमा युकेजीमा अध्ययनरत प्रणय तेजालाई होमवर्क नगरेको भन्दै शिक्षिकाले कक्षाकोठामै कुटपिट गरेको आरोप परिवारले लगाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा शिक्षिकाले बालकलाई थप्पड हानेपछि उनी शिक्षिकाकै काखमा ढलेको देखिन्छ।
परिवारका सदस्यले शिक्षिकाको कुटाइपछि बालक अत्यधिक तर्सिएको र त्यसै क्रममा हृदयाघात भएको आरोप लगाएका छन्। घटनापछि बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
सीसीटीभी फुटेज सार्वजनिक भएपछि मात्रै घटना बाहिर आएको हो। फुटेजमा होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउन शिक्षिकाले कपडा फुकाल्न खोजेको र त्यसपछि थप्पड हानेको देखिएको बताइएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। प्रहरीले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकलाई पहिलेदेखि कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्नेबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।
बालकको मृत्युको वास्तविक कारण यकिन गर्न प्रहरीले पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिरहेको जनाएको छ।




















