एजेन्सी—इरानसँगको तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक होर्मुज स्ट्रेट को नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने प्रस्ताव गरेका छन्। यो प्रस्ताव उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका हुन्। 

ट्रम्पले पोस्टमा लेखेका छन्, “अब यो अमेरिकाको नियन्त्रणमा रहेकाले होर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने हो कि? अमेरिकाजस्तै यो पनि पहिलेभन्दा बढी ‘हट’ हुनेछ।” 

यो अभिव्यक्ति अमेरिका–इरानबीच होर्मुज स्ट्रेट क्षेत्रमा सैन्य तनाव बढिरहेका बेला आएको हो। ट्रम्पले पछिल्ला केही सातादेखि अमेरिका उक्त सामुद्रिक मार्गको नियन्त्रणमा रहेको दाबी गर्दै आएका छन्, यद्यपि इरानले त्यो दाबी अस्वीकार गरेको छ। 

यसैबीच, होर्मुज स्ट्रेट आसपास तेल ट्यांकरमाथि आक्रमणका घटना पनि भएका छन्। साउदी अरबको एक शिपिङ कम्पनीका अनुसार आक्रमणमा फिलिपिन्सका दुई नाविकको मृत्यु भएको छ भने समुद्री सुरक्षा कम्पनीहरूको भनाइमा अज्ञात विमानले दुईवटा तेल ट्यांकरलाई निशाना बनाएको थियो।