सिरहा — सिरहा प्रहरीले लागुऔषध गाँजा मुद्दामा फरार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नगर सभापतिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ का ४७ वर्षीय मोहम्द साबीर अली रहेका छन्। उनी रास्वपाका सुरुङ्गा नगर सभापति हुन्। उनलाई बुधबार बिहान पार्टी कार्यालय रहेको कदमाहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय लहानको टोलीले सप्तरीको भेडियास्थित इलाका प्रहरी कार्यालयको सहयोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट राजमार्ग पार गर्दै दक्षिणतर्फ जान लागेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि कार छाडेर चालक फरार भएका थिए। प्रहरीले कार खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद गरेको थियो।

सोही घटनासम्बन्धी लागुऔषध मुद्दामा फरार रहेका अलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।