धरान । नेकपाका स्थायी कमिटि सदस्य, १ नम्बर प्रदेश कमिटिका इन्चार्ज तथा सांसद भिम आचार्यले नेपाली काँग्रेसले बिगारेको देश कम्युनिष्ट पार्टीले १० वर्षभित्र संसारकै नमुना देश बनाएर देखाउने दाबी गरेका छन् ।
आचार्यले मंसिर ३ गते १७ नम्बर वडा कमिटि धरानको निर्वाचन परिचालन कमिटिलाई धरान उपमहानगरपालिकाको मेयरमा नेकपाका उम्मेद्वार प्रकाश राईलाई चुनाव चिन्ह सूर्यमा मतदान गरेर अत्याधिक बहुमतले जिताउन निर्देशन दिँदै अहिले धरानमा काँग्रेसले छरेको भ्रम चिर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले नेपाली काँग्रेस फटाह, अपराधी र जालीहरुको संगठन भएकोले भ्रष्टचारमा लिप्त भएको आरोप लगाए । उनले भने–‘इटाभट्टामा जिउँदै मान्छेलाई पोल्ने लोकतान्त्रिक, भ्रष्टचार गर्ने तरिका पनि लोकतान्त्रिक र काँग्रेसले जे गरेपनि लोकतान्त्रिक मानिदिनुपर्ने ? काँग्रेसको पालामा राष्ट्रिय महत्वका योजना र ठूलठूला उद्योग कलकारखानासमेत बेचेर खाएका छन् । धरानमा उनीहरु सत्तामा नआए पनि केन्द्रमा बारम्बार सरकार हुँदा धरानको विकासमा के गरे ।’
काँग्रेसले धरानमा चुनाव नजिते पनि सोझा सिधा जनतालाई भ्रम छरेको भन्दै त्यस्ता भ्रमलाई धराने जनताले नपत्याए पछि काँग्रेस बौलाउन लागेको बताए । नेता आचार्यले भने–‘जनतालाई झुक्याएर कम्युनिष्ट बिरोधी भ्रम छरेर चुनाव जित्छु भन्नु मुर्खता हो । ४६ साल अघि धरान कस्तो थियो र अहिले कस्तो बनेको छ जनताले आफ्नै सहभागितामा कम्युनिष्ट सरकारको काम हेरिसकेका छन् । दुई तिहाई बहुमत पाएर सत्ता चलाएको २ वर्ष मात्र भयो अब ८ वर्षभित्र देश कस्तो बन्छ त्यो संकेत आइसकेको छ । धरानवासी सचेत छन् कसैको भुलभुलैयामा पर्दैनन् । काँग्रेसको सत्ता बुझ्नलाई देवानगञ्ज, दुहवी, इनरुवा, गढी लगायतलाई हेरे पुग्छ, धरान त्यस्तो भ्रष्टचारी र दादागीरिलाई स्वीकार गर्दैन त्यसकारण सूर्यभन्दा बाहिर भोट जाँदैन ।’
१७ नम्बर वडा पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रममा संघीय सांसद जयकुमार राईले धरानमा काँग्रेसले कुनै एजेण्डा नपाएर र धरानको विकास गर्ने कुनै योजना नभेटेर खाली कम्युनिष्ट पार्टीको बिरुद्धमा झुटा, असत्य र काल्पनिक कुरा गरेर लाजमर्दो दयनीय अवस्था देखाएकोले त्यस्ता भ्रामक कुरालाई जनताको घरघरमा गएर चिर्नु कम्युनिष्ट कार्यकर्ताको दायित्व भएकोले कात्तिक २५ देखि वडामा शुरु भएको घरदैलो अभियान मंसिर १० सम्म निरन्तर जारी रहने बताए । सांसद राई निर्वाचन परिचालन समिति धरान १७ का इन्चार्ज समेत हुन् ।
निर्वाचन परिचालन समिति धरान १७ का संयोजक सुवास वर्देवाले मंसिर ११ गते धरानको भानुचौकमा हुने विशाल जनसभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने भएकोले हजारौं कार्यकर्ताको उपस्थिति गराउन वडाको टिम परिचालन भएको बताए । कार्यक्रममा नेकपाका प्रदेश सदस्य निरा आचार्य, नगर सदस्य तारा लामगादे, नरेन्द्र प्रसाद राई, रञ्जु भण्डारी, सुवास राई लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।


