काठमाडाैं,३१ साउन । नेकपा एमालेको युवा संगठन  राष्ट्रिय युवा संघ नेपालले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएकोमा विरोध जनाएको छ । 

नेपाल आयल निगमले साउन ३१ गतेदेखि लागू हुने गरी जारी गरेको इन्धनको नयाँ मूल्य सूचीबारे राष्ट्रिय युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर पाँच र डिजेल र मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिसँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १ सय ७८ र मट्टितेल र डिजेलको १ सय ६७ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

सरकारले अस्वाभाविक रूपमा भएको मूल्यवृद्धिप्रति घोर आपत्ति व्यक्त गरेको छ । मूल्य वृद्धिले देश आर्थिक मन्दीको चपेटामा परिरहेको सन्दर्भमा आम नेपाली जनता झनै ठुलो आर्थिक भारमा परेको संगठनले जनाएको छ । ‘इन्धनमा हुने मूल्यवृद्धिले यातायात क्षेत्रमा मात्रै होइन, सबै सरसामानको भाउ प्रभावित हुने र सबै वस्तुको भाउ बढ्ने भएकाले यसबाट आम नेपाली झनै ठुलो आर्थिक भारमा पर्ने देखिन्छ’ संगठनका महासचिव सुमन पुरीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

सरकारको यस्तो गैरजिम्मेवारीपन, लाचारीपन, जबाफहीनताका कारण नेपाली जनता दिनानुदिन सकस र मारमा परिरहेका विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक गरिएको इन्धनको नयाँ मूल्य सूची कार्यान्वयन नगरी फिर्ता लिन संगठनले माग गरेको छ । 

नेपालीको आर्थिक पक्षलाई ख्याल नै नगरी अस्वाभाविक मूल्यवृद्धि सहितको नयाँ मूल्य सूचीलाई कार्यान्वयन गरिए राष्ट्रिय युवा संघ नेपालले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।