काठमाडौं, ५ मंसिर । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ फर्केका छन् ।
नव नियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर सामाखुसीस्थित घर फर्केका हुन् ।
मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर घर फर्किएको उनका प्रेस सहयोगी मदन खनालले जानकारी दिए ।
विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । उनले आफू मन्त्री रहँदा इमान्दारिताका साथ श्रमिकको पक्षमा कम गरेको बताउँदै यतिका समयसम्म मन्त्री बनाएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।


