भोजपुर, ७ जेठ । प्रहरीले भोजपुरमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्तामाथि गोली प्रहार गरेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ अन्तर्गत धोत्लेखानी जङ्गलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाइएको छ ।

प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिएका छन् ।

धोत्लेखानी जङ्गलमा हतियारसहित ३०–३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाइरहेको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो । गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए । त्यसपछि प्रहरीले गोली हानेका थिए । अन्य कार्यकर्ता भने भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले बताएका छन् ।