भूमिप्रसाद पाठक,

पथरी ,१४बैसाख  । देश कोरोना भाइरसको कहरले लक डाउनमा बाँधिएको १ महिना पूरा भएर पनि हप्ता हुन लागेको छ । देशभरिको पछिल्लो तथ्याङ्कलाई हेर्दा ९ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ । यसमा कोरोना संक्रमित मानिसको संख्या ५२ र निको भएर घर फर्किनेको संख्या १६ जना देखिएको छ । अहोभाग्य भन्नुपर्छ– कोरोना प्रभावका कारण अहिलेसम्म शोकमा कुनै नेपालीले बस्नुपरेको छैन । यो राम्रो सुखद् पक्ष हो ।

संघीय सरकारले जारी लक डाउनलाईं अझ १० दिन थप गर्ने निर्णय गरेको छ । अब यो समयको सीमा बैसाख २५ गतेसम्म हुनेछ । झण्डै २ महिना लामो लक डाउनका कारण प्रभावित समुदाय लक्षित घरपरिवारलाई सरकारले पहिलो चरणमा राहतस्वरुप सामग्रीहरू बाँडेको छ । यसको हिसावकिताव भइनसक्दै लक डाउन लम्बिएसँगै अर्कोचरणको राहत वितरणको तयारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

जिल्लाका अधिकांश पालिकाहरूले क्षेत्रबाहिर बसोबास गर्ने आफ्ना नागरिकलाई पालिकाभित्र ल्याएको छ, ल्याउनेक्रम जारी छ । पथरी शनिश्चरे नगरपालिकाले संस्थागत निर्णय गर्न नसके पनि उपप्रमुख यमुना बिष्ट, वडा नं. १ अध्यक्ष बाबुराम ऐङदेन र वडा नं. १० अध्यक्ष सागर राईंले जिम्मा लिएर स्थानीय नागरिकलाई ल्याएर घर–घर बुझाएको छ।

 

B2

हिजोमात्र पुरुष, महिला र बालबालिका गरी २ सय ४४ जना पथरी शनिश्चरेका स्थायी बासिन्दाहरूलाई आवश्यक स्वास्थ्य उपकरण, सेनेटाइजर र कीटनाशक स्प्रो छर्किएर नगरमा स्वागत गरिएको उपप्रमुख बिष्टले बताउनुभएको छ ।

नगरले संस्थागत निर्णय गर्न नसक्दा आफ्ना नागरिकलाई ल्याउने विषयमा पनि सम्बन्धित वडाको तँछाडमछाड र राजनीतिक गन्ध आएको स्थानीय जानकारहरू बताउछन् ।

नागरिक कसैको हुँदैन । बच्नु सबैलाई छ । यो बेलामा मानिस कोही पनि कसैको हुँदैन । अध्यक्ष सागर राईंको व्यवस्थापनमा आउनुभएको हो कि बाबुराम ऐङदेनको व्यवस्थापनमा भनेर सोधिनु राम्रो हुँदैन थियो । भाडामा एकरुपता देखिएन । यसलाई विषय बनाउनुहुने थिएन । जसै हामी आयौं । राम्रो भयो भन्छन् कोरोना संक्रमणको डर र भोकले व्याकुल भएर घरपरिवार सँगसँगै हुन आएका स्थानीय नागरिक ।

यसबीचमा ‘प्रहरीको साथी म’ कार्यक्रमलाई सेनेटाइजर वितरण सम्पन्न भएको छ । नगरपालिकाभित्र कोरोना भाइरस जोखिम न्युनीकरणका लागि नगरका १० वटै वडामा गठित ‘प्रहरीको साथी म’ मा उर्जाशील युवाहरूलाई नगरपालिकाले सेनेटाइजर वितरण गरेको हो । वडा नं. ४, ५, ६, ७ र १० मा उपप्रमुख बिष्टले सेनेटाइजर वितरण गर्नुभएको हो ।

नगरमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै बस्न गरिएको लक डाउनका कारण एकदमै समस्यामा परेका मानिसका लागि भौकभोकै बस्नुपर्ने अवस्था सिर्जना नगर्न नगरपालिकाले थप राहतको व्यवस्था गरेको छ । कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन तथा वितरण समितिको आजको बैठकले थप ३० हजार केजी चामल सहितको

राहत व्यवस्थापन गरी वडा–वडामा वितरण गरिने निर्णय गरेको छ ।
१० वडाका लागि प्रति वडा ३ हजार केजीका दरले चामल सहितको राहत वितरण गर्ने निर्णय भएको समिति संयोजक एवम् नगर उपप्रमुख बिष्टले जनाउनु भएको छ ।

वडाध्यक्षहरू सहितको सो बैठकमा वडामा के–कसरी राहत व्यवस्थापन तथा वितरण गर्न उचित होला भन्ने विषयमा छलफल गरी निर्णय गरिएको थियो । साथै बैठकले अवको १ सातासम्म खाने व्यवस्थापनका लागि सो राहत वितरण गर्ने र पुनः लक डाउन थपिने अवस्था भए दोस्रो चरणको राहतका लागि पहल गर्ने समेत निर्णय गरेको छ ।

यहिँबीचमा नगरप्रमुखको संयोजकत्वमा गठित कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिका एकजना सदस्यले समान हैसियतको अर्को सदस्यका विरुद्ध संयोजकसमक्ष कारबाही गरिपाउँ भनि दिएको निवेदनका कारण पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत भने विगत केही समययता सम्पन्न यी बैठकहरूमा सहभागी नहुने गरेको विषय प्रसङ्ग खुल्नमा आएको छ ।

जिम्मेवारी पूरा गर्न कोरोना युद्धमैदानमा उत्साहपूर्वक अग्रभागमा देखिनु हुने अध्यक्ष बस्नेत बैठकमा समेत सहभागी नहुने गरेको विषयले बजारमा निकै चर्चा पाएको छ ।