काठमाडौं, १९ जेठ

भोली सोमबार सचिवालय बैठक हुनु अघि नै नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको छ ।

यो वार्ताको मध्यस्तता नेता माधवकुमार नेपालले गरेका हुन् । नेपाल पनि सँगै रहेका छन् । सचिवालय बैठकको एजेन्डा तय गर्न बैठक भएको बताइएपनि यसमा महासचिव विष्णु पौडेलको उपस्थिति छैन ।

उच्च स्रोतका अनुसार हालै एकीकरणका बेला भएको आलोपालो सरकार नेतृत्व गर्ने विषयले चर्चा पाएपछि त्यस विषयमा मन माझामाझ गर्न ओली–प्रचण्डको वार्ता गराइएको हो ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ कार्यक्रममा नयाँ दिल्ली पुगेका बेला प्रचण्डले उक्त सहमतिको स्मरण गराएका थिए । साथै, एक बर्षपछि सरकारको नेतृत्व पाउनुपर्ने स्मरण पनि गराए । प्रधानमन्त्री ओलीले पनि व्यंग्यात्मक शैलीमा मिडियामार्फत नै जवाफ फर्काएका थिए । अध्यक्षद्वयमा देखिएको उक्त नेपथ्यको विवाद मिलाउन नेता नेपालले मध्यस्तता गरी अग्रसरता देखाएका हुन् ।