काठमाडौं/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले भए नभएका गल्तीहरुको दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न विपक्षी दलका चेतावनी दिएका छन् ।
बजेटमाथि प्रतिक्रिया दिने क्रममा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले माओवादी द्वन्द्वका कारण मुलुक पछाडि परेको र युवाहरु विदेश पलायन हुन वाध्य भएको बताएपछि त्यसको जवाफ दिंदै शर्माले अरुलाई गलत देखाएर आफू उम्किने शैली त्याग्न चेतावनी दिए ।
उनले संविधान निर्माणलगायत राम्रा कामहरुको उपलब्धी चाँहि आफूहरुको कारण भएको भन्दै श्रेय मात्रै लिने र अरुलाई चाँहि दोषारोपण नगर्न शर्माले चेतावनी दिए । उनले मुलुकमा भएका राम्रा–नराम्रा सबै कामको जस–अपजसको जिम्मेवारी सबैले लिनु पर्ने बताए ।
उनले भने, ‘परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जङ्गल पसेर सब विनाश गरे भनेर भन्ने ? म जिम्मा लिन तयार छु । जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्णरुपमा जिम्मा लिन चाहन्छु ।
त्यसले दिएको उपलब्धी, परिवर्तनका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरु पनि सामूहिक रुपमा लिउँ । त्यहा भएका कमी कमजोरीहरु लिन म तयार छु । त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ ।’
सांसद भुसालले २०४८ सालदेखिको मुलुकको आर्थिक अवस्थाको फेहरिस्त प्रस्तुत गर्दै नेपाली कांग्रेसले लिएको निजीकरणलाई तत्कालीन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी सिर्जना भएको दाबी गरेकी थिइन् । सोही क्रममा उनले तात्कालीन माओवादी द्वन्द्वका कारण युवाहरु विदेशिन बाध्य भएको बताएकी थिइन् ।
उनले भनिन्, ‘जब नेकपा एमालेले निजीकरणको विरोध गर्दै गयो, अरुण तेश्रो योजनालाई अघि बढाउ भन्दाखेरी त्यसको विरोध गर्दै गयो र आज आएर भारतसँग ५ सय मेगावाट किनेर रोजगारी सिर्जना गर्ने अवसरलाई गुमायो । निजीकरणको नीतिलाई गुमायो भने अर्कोतिर माओवादीहरु जंगलमा गएर हिंसात्मक द्वन्द्व गरेर निजी क्षेत्रलाई ध्वस्त पार्दै गए, युवालाई विदेश जानका लागि बाध्य गरे ।
निजीकरणको विरोध गरे त्यसको परिणामस्वरुप नेपाली युवाहरु विदेश जान बाध्य भएका थिए । त्यही भएर नेपाली कांग्रेसको समयमा युवाहरु विदेश गए भन्ने तथ्याङ्क म निवेदन गर्न चाहन्छु, बालुवाटारको प्रधानमन्त्री कार्यालयमा गएर हेरौं । नेपाली कांग्रेसको समयमा ९० हजार भन्दा बढी युवाहरुले रोजगारी पाएका थिए ।’
प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६–७७ को बजेटमाथिको छलफलमा बोल्न रोस्टम गएका सांसद शर्माले सांसद भुसालको खरो अभिव्यक्तिको खरो रुपमा प्रतिवाद गरेका थिए ।
प्रगतिशील उत्पादक शक्तिको विकास गरि समाजवाद उन्मुख अर्थतन्त्रमा पुग्ने वहस नै अहिलेको वहसको विषय भएको भन्दै सांसद शर्माले प्रगतिशील उत्पादक शक्तिको विकास गर्दै उत्पादनको साधन र स्रोतमा जनताको सहभागिता विस्तारमा जोड दिनुपर्ने बताए ।
उनले बजेटले समृद्ध मुलुक बनाउने सरकारको नारालाई आत्मसात गरेको, राष्ट्रिय पूँजी निर्माण लगायत विषयहरुमा प्राथमिकता दिएको बताए । गत बर्ष हराएको कर्णाली अहिलेको बजेटमा सम्बोधन भएकोमा उनले धन्यवाद दिए ।




















