काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा लखेट्ने बताएका छन् ।

चितवनमा सोमबार आयोजित सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा पुनःस्थापना भए प्रधानमन्त्री ओलीलाई झाप लखेट्ने बताएका हुन् ।
“संसद् पुनःस्थापना भए, प्रधानमन्त्री ओलीले ठूलो खर्च गरेर दमकमा भ्यु टावर बनाएक छन् । त्यहीँ विचरण गर्न पठाउने हो,” नेता थापाले भने । उनले सर्वोच्च अदालतलाई खुट्टा नकमाउन पनि आग्रह गरे ।

नेता थापाले अदालतले कर्तव्य पालना गरेर संविधानका धारा पल्टाएर फैसला गरे प्रतिनिधि सभा पुनःस्थापना हुनेसमेत जिकिर गरे । “अदालतले खुट्टा नकमाउओस् । अदालतले कर्तव्य मात्र पूरा गरोस् । धारामात्र हेरोस्,” उनले भने ।

नेता थापाले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानका जगमा हान्ने काम गरेको दाबी गरे । उनले संविधानमा भएका कमिकमजोरी सच्याएर अगाडि बढ्ने आधारमा टेकेर अगाडि नबढे मुलुक ठूलो दुर्घटनामा पर्ने दाबी गरे ।

“संविधानमा भएका कमजोरी सच्याएर, नभएका कुरा थपेर अगाडि बढ्ने आधार हामीसँग छ,” थापाले भने, “यो आधारमा टेकेर अगाडि गएनौं भने ठूलो दुर्घटनमा पर्छौं ।” उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकारनै नभएको पनि जिकिर गरे । लेखाजोखा न्युजबाट