मलाई आज ठ्याक्कै मिति त थाहा भएन तर २०५२ सालकाे कुरा हुनुपर्छ । पार्टिकै काममा अरू साथीकाे अहिले नाम नलिऊँ , तीनजना इलाम सदर मुकाम गयाैँ । नेपाली काङ्ग्रेसका कुनै केन्द्रीय नेताकाे सम्बाेधनकाे कार्यक्रम भएकाले हाेटल तथा लज खाली थिएनन् ।
हामी प्राय खड्का हाेटेलमा नै खानेसुत्नेे गर्थ्याैँ । साे हाेटेल प्याक थियाे त्यसैले गाेरखकाे हाेटेलमा गयाैँ । काेठा माथिल्लाे तलामा थियाे । बिहान उठेर चिया पिउन तल ओर्लियाैँ । त्यहाँ २०/२२ वर्षकी एउटी बहिनी रहिछिन् । हाम्राे साेधीखाेजी गर्ने बानी साेध्याैँ । काे हाै ? मलिन छ्याै आदि आदि । एकछिन् बाेलिनन् । अन्त्यमा लाेग्नेसँग छाेडपत्र गर्न आएकाे , बुबा र दाजुहरू बाहिर निस्किनुभएकाे छ ।
मलाई मन नभएर बसेकी भनिन् । यस्तै एउटा भाइ पनि त्यही हाेटलमा पस्याे तर ऊ अकमकियाे। बैनीले सङ्केतले उहीँ हाे मेराे लाेग्ने भनी । हामीले त्याे भाइलाई जबरजस्ती बाेलाएर चिया माग्याैँ र दुवैलाई सम्झाउन थाल्याैँ । केटीलाई पाेइ छाडेकी भनेर तिमीले दाेस्राे बिहे नै गरे पनि तिरस्कृत हुन्छ्याै । अनि भाइ स्वास्नी छाडा भनेर तिमी पनि आलाेचित हुन्छाै । यति राम्राे जाेडी छ ।
यस्ताे जाेडी भगवानले मात्र जुराउँछ भन्दै अनेक तरहले सम्झाउन , बुझाउन थाल्याैँ । दुवै सुक्कसुक्क गर्न थाले । हामीलेे बुझ्याैँ , एकले अर्कालाई माया गर्दा नै रहेछन् । केही छिनमा दुवैथरी अभिभावक पनि आए । उनीहरूलाई पनि हामीले तिनै कुराहरू भन्याैँ । अन्त्यमा छाेडपत्र ( पारपाचुके ) नगर्ने कुरा भयाे । दुवै थरीले हामीलाई पनि सहयाेगका लागि अदालत जान अनुराेध गरे । दुवै परिवारकाेे पुनर्मिलन भयाे । आज पनि त्याे दिन सम्झँदा मीठाे सन्तुष्टिकाे स्वाद आउँछ । भण्डारी र निराैला परिवारकाे त्याे मिलन साँच्चिकै चाख लाग्दाे थियाे । भत्काउन भन्दा जाेड्दा नै मज्जा । ( हेमराजजी र निर्मलजी , तपाईँहरूले बिर्सनुभएकाे छैन हाेला । अँ ती दम्पतीले त राम्रै घर खाए अरे भन्ने कुरा फिक्कलमा भेटेका साथी भन्थे )।
आज मलाई नेकपाकाे पारपाचुकेकाे पेशीले आक्रान्त बनाएकाे छ । अभिभावकले सन्तान के चाहन्छ भन्ने कुरा बुझेन भने वा बुझ्न चाहेन भने पारिवारिक दुर्घटना हुँदाे नै रहेछ । परिवारलाई खरानी बनाउन आखिरमा किन अभिभावक नै लाग्छन् ? अभिभावकहरूकाे अहङ्कार र दम्भकाे पीडा सन्तानलाई किन ? त्याे मिलन झै राजनीतिक पारपाचुके फिर्ता हुन सक्तैन ? सन्तान आज पारपाचुकेकाे विरुद्धमा छन् ।
उमानाथ भट्टराइ सुकुना बहुमुखी क्याम्पस मोरङको उपप्राध्यापक हुनुहुन्छ ।




















