काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। नेकपा (माओवादी केन्द्र) सँग अलग भएपछि एमालेको सचिवालय बस्न लागेको हो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठक अनौपचारिक रूपमा बस्न लागेको जानकारी दिए।

बैठक अपरान्ह ४ बजे बोलाइएको छ। अनौपचारिक भएपनि बैठकमा देशभरको पार्टी अवस्था, पार्टी कार्यालय पुनःस्थापना, पार्टीको सबै कमिटी र संसदीय दललगायत विषयमा छलफल हुने मन्त्री ज्ञवालीले बताए।

नेकपा एमालेको विधानअनुसार सचिवालयको संयोजक महासचिव ईश्वर पोखरेल हुन्। सचिवालयमा दुई उपमहासचिव र पाँच जना सचिव सदस्य छन्। नेकपा एमालेले धुम्बाराहीमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको बोर्ड आज राख्ने भएको छ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई रहेको फैसला गरेको थियो। जबकि सोही नाममा निर्वाचन आयोगमा नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्रको एकीकरणको नाम दर्ता थियो। उक्त नाम खारेज गर्दै दुई पार्टीलाई एकीकरण पहिलेको अवस्थामा फैसलाले पु¥याएपछि पूर्वबत् पार्टीमा लागेका छन्।