काठमाडौँ। निर्वाचन आयोगले सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई खारेज गरेको छ। दल खारेज गरेसँगै आयोगले उनीहरूलाई नयाँ दल दर्ता गर्नसमेत भनेको छ।
नयाँ दल दर्ता गर्नको लागि तिवारी र किराँतीलाई १५ दिनभित्र सुधारसहितको विवरण आयोगसमक्ष पेश गर्न भनिएको छ। २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर निर्वाचन आयोगको जेठ २३ गतेको निर्णयबाट दल नेकपा बनेका थिए। एक वर्ष सम्म आयोगले यी दुई दलको नाम रिजर्भ राखेको थियो।
२०७५ जेठ २३ अगाडि आयोगमा दर्ता नं. ३२ मा नेकपा एमाले र दर्ता नं. ३७ मा नेकपा माओवादी केन्द्र दर्ता रहेका थिए। त्यसको एक वर्षपछि निर्वाचन आयोगले आयोगले १५३ दर्ता नं. मा गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र दर्ता नं. १६० मा सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) दर्ता गरेको थियो।
‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को हकमा अर्को नयाँ नाम र चिह्न तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण आयोगसमक्ष पेश गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का अध्यक्ष सन्ध्या तिवारीलाई जानकारी गराउने,’ आयोगले आफ्नो निर्णयमा भनेको छ।
तत्कालीन एमाले र माओवादी केन्द्रले २०७५ जेठ २३ गते एकीकरण भई पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेका थिए। त्यसपछि ऋषि कट्टेलले उक्त दल आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सर्वोच्चले यही फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कट्टेलको भएको फैसला सुनाएपछि आयोगले दुई दललाई साविककै अवस्थामा फर्काएको हो। त्यसपछि तिवारी र किराँती अध्यक्ष रहेका क्रमशः नेकपा (एमाले) र माओवादी केन्द्रलाई खारेज गर्ने निर्णय गर्दै दलको नाम नयाँ नाम छनौट गर्न भनेको हो।




















