काठमाडौं,२७ फागुन । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको छ। सर्वाेच्च अदालतले पूर्ववतः पार्टी ब्ँयूताईदिएपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा गएका माओवादी केन्द्रका नेताहरुलाई फिर्ता बोलाउने तयारी भएको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टीका तर्फबाट गएका मन्त्री फिर्ता बोलाउने तयारीमा माओवादी स्थायी समितिभित्र छलफल शुरु गरिएको छ। केपी ओली पक्षमै लागेका माओवादी केन्द्रको नेतालाई पार्टीका नामबाट प्राप्त सेवा सुविधा त्याग गर्न र फिर्ता बोलाउने कानुनी प्रक्रिया मिलाउन माओवादी केन्द्रले स्थायी समिति सदस्य देव गुरुङ र वर्षमान पुन (अनन्त) लाई जिम्मा दिइएको छ।

गुरुङ र पुनले अबको केन्द्रीय समिति बैठकमा यस विषयमा कानुनी प्रक्रियाका बारेमा अध्ययन गरेर आफ्नो राय दिनेछन्। माओवादी केन्द्रले चैत १ गते पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। २ चैतमा राष्ट्रिय कार्यकर्ता भेला पनि बोलाएको छ।

केन्द्रीय समितिको बैठकबाट ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने तर फिर्ता नआउने मन्त्रीहरुका हकमा पार्टीको तर्फबाट प्राप्त सेवा सुविधा खोस्ने गरी कानुनी प्रक्रिया अवलम्वन गर्ने तयारी भएको छ। यसो हुदा रामबहादुर थापा लगायतका मन्त्रीहरुको सांसद पद लगायतका सुविधा खोसिने छ।

नैतिक रुपमा माओवादी केन्द्रले फिर्ता बोलाएपछि बादल लगायतका टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी लगायतलाई नैतिक संकट आइपर्ने छ। मणि थापा र दावा तामाङ सांसद नरहेका कारण उनीहरुलाई पनि पार्टीले कारवाही गरेपनि नगरेपनि खास महत्व हुनेछैन।