काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेतासँग शनिबार पेरिसडाँडामा भएको छलफलबाट बाहिरिएका नेता यादवले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने दोहोर्याए।
‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू,’ यादवले भने,‘आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो।’
उनले ओलीलाई सरकाबाट हटाउने सहमति नजिक नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू पुगेको बताए। यसबारे चाँडै तीन दलबीच पुनः छलफल हुने जानकारी दिए।
यादवले सरकारसँग रेशम चौधरीको रिहाइको एजेन्डामाथि मात्रै छलफल भएको दाबी गरे। उनले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको खुलासा गर्दै रेशमलाई सरकारले रिहा गरिदिए धन्यवाद दिने बताए।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न शनिबार बिहान पेरिसडाँडा पुगेका थिए।
बैठकले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निस्कर्ष निकालेको यादवले जानकारी दिए। ओलीको सर्वसत्तावादविरुद्ध संघर्ष गर्ने निस्कर्ष निकालिएको यादवको भनाइ थियो ।
बैठकमा सहभागी जसपाका अध्यक्ष महन्थ ठाकुरले भने छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए। सेतोपाटी बाट




















