काठमाडौं, १ चैत । नेकपा एमालेको ओली र नेपाल खनालबीचको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय रुपमा गरेको निर्णय विधान सम्मत नभएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आज (आइतबार) निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
आयोगमा १०३४ नम्बरमा दर्ता भएको पत्रमा पार्टी विधानको धारा ४१ मा पार्टी विभिन्न कमिटीका बैठकहरुको आयोजना हुनुपर्ने भएकाले बैठक नै नबोलाइ गरिएका निर्णय विधानअनुकूल ठहर नहुने उल्लेख छ ।
‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले) को विधि, पद्धति र अभ्यास रहँदै आएको छ ।
त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिँदैनन् । सर्वोच्च अदालतको फैसलाबाट झण्डै तीन वर्षपश्चात् नेकपा (एमाले) यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरु क्रमशः आयोजना गरी आफुलाई पुनः क्रियाशील तुल्याउनुपर्ने कुरा स्पष्ट छ’, पत्रमा भनिएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको निर्णय विधानविपरीत भएकाले गुट विशेषका निर्णयलाई वैधता नदिनु भन्दै खनाल–नेपाल समूहले पत्र बुझाएको हो । दुईपाने पत्रमा स्थायी कमिटीका ११ सदस्यहरुले हस्ताक्षर गरेका छन् ।नयाँपेज बाट





















